
विनोदसिंह विष्ट (इमेज)
बैतडी, कात्तिक २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आयोजित राष्ट्र निर्माण महामहोत्सवको बिहीबार उद्घाटन गर्दै उनले मुलुकको एक इन्च पनि सीमा मिच्न नदिइने बताए ।
भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सन्चारमाध्यमबाटै थाहा पाएको उनले उल्लेख गरे ।
‘कालापानी हाम्रै हो । यदि, भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ’–उनले भने ।
उनले थपे–‘मित्रता आफ्नो ठाउँमा होला तर एक इन्च पनि सीमा मिच्न दिइने छैन ।’
उनले वर्षौंदेखि कुराकानी भइरहेको भएपनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाउने सहमति भइरहेको बताए ।
‘पानी आधा–आधा हुन्छ । सहमतिमा जोड दिएका छौं’–परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
भारतसित सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्कीपुल निर्माणका लागि भारत सहमतिनजिक रहेको पनि उनले जानकारी गराए ।
बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको उल्लेख गरे ।
उनले भने–‘भारतका विदेशमन्त्री एस जयशंकरसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौं । कूटनीतिक पहलमा छौं ।’
एक फरक प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्र निर्माणका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले परराष्ट्रमन्त्री ज्ञवालीलाई सातबुँदे ज्ञापनपत्र बुझाएका थिए ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउनुपर्ने, पञ्चेश्वरस्थित महाकाली नदीमा झोलुंगेपुल निर्माण गर्नुपर्ने, छोटी भन्सार कार्यालय स्थापना हुनुपर्नेलगायतका मागसहित ज्ञापनपत्र बुझाइएको हो ।
समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत् महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।
पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा सन्चालित महोत्सव आउँदो मंसिर २ गते सम्पन्न हुने जनाइएको छ ।
महामहोत्सव उद्घाटनपछि परराष्ट्रमन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको बाँधस्थलको अनुगमनसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्