
खलंगा, कात्तिक २० । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारकाक्रममा मृत्यु भएको छ ।
मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो ।
उपचारकाक्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताए ।
सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन् ।
‘निरीक्षक थापा मंगलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए । आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौं । तर, बचाउन सफल भएनौं’–उपरीक्षक न्यौपानेले भने–‘डाक्टरकाअनुसार हृदयाघातका कारण मृत्यु भएको आशंका छ ।’
अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारी–साधनमा उनकै जिल्ला पठाएर दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताए ।
मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्