
शिवहरि भट्टराई (इमेज)
राजविराज, कात्तिक १६ । सप्तरीमा शनिबार एक महिलाको शव भेटिएको छ । अग्निसाइर कृष्णासवरन गाउँपालिका–१, जन्डोलमा शव फेलापरेको हो ।
शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।
चार दिनदेखि बेपत्ता रहेकी स्थानीय ३६ वर्षीया बुलु खातुन मृतावस्थामा भेटिएकी हुन् ।
यही कात्तिक १२ गते मध्याह्न १२ बजेतिर घाँस काट्न भनी घरबाट निस्किएकी खातुन राति अबेरसम्म घर फर्किइनन् । त्यसपछि खोजतलास गरिएको मृतकका पति इनुस मियाँले बताए ।
जंगल र आफन्तकहाँ खोजी गर्दा कतै पत्ता लाग्न नसकेपछि भोलिपल्ट प्रहरीमा खबर गरेको उनले जानकारी दिए ।
प्रहरीसहितले खोजी गर्नेक्रममा राजमार्गदेखि उत्तरतर्फ महुलीखोलाको हेडड्यामदेखि पश्चिम कुलोमा मृत फेलापरेको मियाँले बताए ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख डीएसपी मकेन्द्रकुमार मिश्राको नेतृत्वमा रहेको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरिएको छ ।
शव ‘पोस्टमार्टम’का लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको डीएसपी मिश्राले जानकारी दिए ।
घटनाबारे थप कुरा अनुसन्धानपछिमात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्