
बैतडी । गत कात्तिक ४ गते बैतडीमा भएको डोजर प्रकरणमा थप एक जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जोशी विरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरेर पक्राउ गरिएको हो ।
सडक रोक्ने पक्षले भने आफूहरुकै जमीनमा जबरजस्ती डोजर चलाएको, आफूहरुमाथि मुद्दा दायर गरेको भन्दै विरोध जनाएका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माण गर्दा डोजरले महिला हुत्याउने चालक किशोर बोहरालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।
डोजर मालिक भानीदत्त जोशी, स्थानीयहरु भोजराज जोशी र धर्मानन्द जोशीलाई पनि १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक किसन चन्दले बताए ।
यसैबिच डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रसासन कार्यालय बैतडीले गठन गरेको छानबिन समितिले पनि अनुसन्धान थालेको छ ।
उक्त घटनामा एक महिलासहित अन्य ७ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्