
चितवन, कात्तिक ८ । नेपाली कांग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी घोषणा गरेको छ ।
भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६, ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरिएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरेलगायत सहभागी थिए ।
भरतपुर महानगरपालिका–१६ को अध्यक्षमा अमृत हमाल, खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नम्बर–५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेतलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नम्बर–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्