
काठमाडौं, कात्तिक ७ । सरकारले काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को गएको मंगलबार (कात्तिक ५ गते) बसेको बैठकले सोसहित विभिन्न १७ ओटा निर्णयहरु गरेको छ ।
बैठकले नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको छ । उनी हाल गृह मन्त्रालयका प्रवक्ता छन् ।
यस्तै, सुनसरीको देवानगन्ज गाउँपालिकालाई देवानगन्ज गाउँपालिका वडा नम्बर–२ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशुल्क ‘लिज’मा उपलब्ध गराउन स्वीकृति दिइएको छ ।
बैठकले नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ ।
यसैगरी, रोजगारीको हकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
नेवार समुदायको किजापूजा (भाइटीका)का अवसरमा यही कात्तिक १३ गते देशभरका सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघ–संस्था र शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिनेलगायतका विभिन्न १७ निर्णय मन्त्रिपरिषद्को सो बैठकले गरेको छ ।
सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
१. नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको छ ।
२. चालु आर्थिक वर्ष २०७६/७७ को लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको रू. २५३२.८० र मध्ययम धानको रू. २६७३.१६ तोक्ने निर्णय गरिएको छ ।
३. इन्जिनियर श्री तुलाराम पौडेललाई SAARC Energy Center इस्लामावादको Professional Staff Research Fellow का रूपमा काजमा खटाउने निर्णय गरिएको छ ।
४. सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको छ ।
५. नेपाली सेनाका लेखा उपरथी श्री भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी श्री आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरिएको छ ।
६. रोजगारीको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
७. काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।
८. सुचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।
९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको Indian Council of Medical Research बीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको MOU मा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिइएको छ ।
१०. किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधवारका दिन सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।
११. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
१२. डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ ।
१३. नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ ।
१४. माराकेश सन्धी, २०१३ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।
१५. मालपोत नियमावली, २०३६ को नियम ५ ख.(१) को समितिले गरेको न्यूनतम मूल्यांकन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिइएको छ ।
१६. गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरिएको छ ।
१७. नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव श्री रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्