
काठमाडौं, कात्तिक ४ । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द नेतृत्वको समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको ठहर गरेको छ ।
आयोगले घटनामा प्रत्यक्षरुपमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिससमेत गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले सो घटनामा दोहोरो भिडन्त वा प्रहरीको आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको ठहर गरेको हो ।
‘घटनाको प्रकृति, संकलित प्रमाणसमेतबाट निजलाई नियन्त्रणमा लिइ मारिएको आयोगको अनुसन्धानबाट देखियो’–आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपश्चात् अनावश्यकरुपमा बल प्रयोग गरी ९ ओटा गोली हानी मारिएको आयोगको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।
गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगलनजिक कच्चीसडकको बाँसघारीमुनि पौडेल मारिएका थिए । प्रहरीले दोहोरो भिडन्तमा पौडेल मारिएको दाबी गरेको थियो ।
आयोगले घटनामा प्रत्यक्षरुपमा संलग्न प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई भनेको छ ।
यस्तै, प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का गर्दा त्रुटिपूर्ण तवरले गरेकाले सचेत गराउन सिफारिस गरेको छ ।
आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी, कर्मचारी, आदेश दिने अधिकारीलगायतका व्यक्तिहरुमाथिसमेत अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
‘विवादित यस किसिमका घटनाहरुमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न विषयगत विशेषज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्ने व्यवस्था गरी अनुसन्धानका लागि छुट्टै संयन्त्रको निर्माण गर्न/गराउन तथा कुनैपनि सुरक्षा निकायका कर्मचारीहरु कानुनविपरीतका आदेशहरु कार्यान्वयन नगर्न स्वतन्त्र रहनसक्ने व्यवस्थालाई कानुनमार्फत् नै संरक्षित गर्न’लगायतका सिफारिस आयोगले गरेको छ ।
आयोगले चन्द नेतृत्वको समूह नेकपालाई हिंसात्मक गतिविधि तत्काल रोकी लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट आफ्ना क्रियाकलापहरु गर्नसमेत भनेको छ ।
प्रतिक्रिया दिनुहोस्