
भक्तपुर, कात्तिक १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जितेका स्थानीय तहमाभन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रो काम भएको हुनुपर्ने बताएका छन् ।
भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबारदेखि सुरु गरेको कार्यक्रम उद्घाटनमा बोल्दै देउवाले स्थानीय जनप्रतिनिधिलाई चुनाव जितेका ठाउँमा कामबाटै कम्युनिस्टभन्दा फरक भएको देखाउनुपर्नेमा जोड दिए ।
जनताका पीर, मर्का र समस्याहरू बुझी जनतासँगै समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
कर्मचारीहरूले असहयोग गरेका कारण पनि प्रभावकारी काम हुन नसकेको भन्दै सभापति देउवाले त्यस्ता कर्मचारीको हिसाब–किताब राखिने बताए ।
प्रशिक्षणमा देशभरका ३०० भन्दा बढी स्थानीय तहबाट प्रतिनिधि आएका छन् ।
जनता र पार्टीसँग समन्वय गरी काम गर्न निर्देशन दिन कांग्रेसले प्रशिक्षण राखेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्