Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल’ नाच घरमा सुरु


0
Shares

काठमाडौं, बैशाख १० । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना (कोभिड–१९) का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्या बारे सरकार जानकार रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले कोभिडका कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुर्नबहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको दाबी गर्नुभयो ।

सरकारले नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रियकरण गर्न विदेशमा नेपाल फिल्म फेस्टिभल आयोजना गर्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

शुक्रबारदेखि काठमाडौंस्थित राष्ट्रिय नाच घरमा नेपाल अफ्रिका फिल्म फेस्टिभल शुरु भएको हो ।

फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल अफ्रिका फिल्म फेस्टिभलकी निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकि देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताउनुभयो ।

फिल्म फेस्टिभलमा नेपाली फिल्महरुपनि प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

नेपाल र अफ्रिकाबीचको दुरी घटाउँदै अफ्रिकिहरुको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि यस फिल्म फेस्टिभलले सहयोग गर्ने पनि बताउनुभयो ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिकाबीचको रहनसहन, भाषा, सभ्यतालाई नजिक बनाउने बताउनुभयो ।

दुई देशबीचको मित्रतालाई अघि बढाउन मद्दत पुग्ने पनि बताउनुभयो ।

अधिकारीले विदेशमा छरिएर रहेका नेपालीहरुले पनि नेपाली फिल्म फेस्टिभल गर्ने कुराको प्रतिक्षामा रहेको बताउनुभयो ।

छिटोभन्दा छिटो नेपाली सिनेमाहरु पनि विश्वभर पुग्नेमा आफू आशावादी रहेको अधिकारीले बताउनुभयो ।