
सोलुखुम्बु, असोज २५ । सीता एअरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।
शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ‘ट्वीनअटर’ विमान दुर्घटनाबाट जोगिएको हो ।
नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाकाअनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो ।
उड्ने तयारीमा रहेको विमान धावनमार्गको करिब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।
चालकदललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए ।
तीन चालकदलका सदस्यसहित १३ विदेशी पर्यटक यात्री लिएर उडेको सीता एअरको ९एन–आई–ई विमानको सकुशल अवतरण सफल भएको बताइएको छ ।
यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।
यही असोज १४ गतेदेखि दुई महिनाका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ ।
पर्यटकीय ‘सिजन’मा प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्