
काभ्रेपलाञ्चोक, असोज १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९, पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आइतबार बिहान पूजा–अर्चना गरेकी छन् ।
उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् ।
साथै, उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन् ।
बिहान १०ः०५ बजे मन्दिर आइपुगेकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।
बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वको दिन दुर्गाभवानीको पूजा–अर्चना गरी मनाइन्छ ।
महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ आजको दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ ।
साथै, आजकै दिन दसैंघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ ।
बडादसैंको नवरात्रिभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्