
काठमाडौं, असोज १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ ‘घुस’ रकमसहित एकजना ओभरसियरलाई पक्राउ गरेको छ ।
अख्तियारले काठमाडौंको टोखास्थित लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई घुससहित पक्रेको हो ।
टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै उनले सेवाग्राहीसित घुस मागेको आरोप लागेको छ ।
भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनका लागि भन्दै सेवाग्राहीसित घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
अख्तियारले ओभरसियर चौधरीलाई घुसवापतको उक्त रकम लिइसकेको अवस्थामा रकमसहित निजकै कार्यालय परिसरबाट पक्राउ गरेको थियो ।
बुधबार विज्ञप्ति जारी गर्दै अख्तियारले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्