१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


लगातार किताब पढेर बझाङका मुकेशले राखे विश्व कीर्तिमान


0
Shares

-डीबी विष्ट/ईमेज

बझाङ । बझाङका मुकेशराज जोशीले सबैभन्दा धेरै समय लगातार पढेर विश्व कीर्तिमान कायम गरेका छन् ।

जयपृथ्वी नगरपालिका–८ जोशीगाँउका मुकेशराज जोशीले लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व कीर्तिमान गरेका हुन ।

६ दिन पाँच रात लगातार किताब पढेर उनले विश्व कीर्तिमान राखे । गिनिज इभेन्टको आयोजनामा उनले साउन ५ गते बिहान ११ ः ३० बजे देखि पढ्न शुरु गरेको उनले बताए ।

१ सय २४ घण्टा ३० मिनेटसम्म जोशीले इतिहास, विभिन्न बिभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य किताबहरू पढेको बताए । यसभन्दा अगाडी यो विधामा नेपालकै दीपक शर्माले १ सय १३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए ।

यस्तै नाइजेरियाका एक ब्यक्तीले सन् २०१९ को अप्रील तिर  १ सय २० घण्टा पढेको बताइएको छ । उनको नाम गिनीज बुकमा अहिलेसम्म लेखिएको छैन तर लेखिने तयारी रहेको बताइन्छ ।

को हुन् जोशी ? 

बुबा परशुराम र आमा जालदेवी जोशीका कान्छा छोरा मुकेशको जन्म २०५४ मैसिर १७ गते भएको हो । उनले कक्षा १० सम्म जालपा मावि र प्लस टु सत्यबादीबाट अध्ययन गरेका हुन् ।

विपन्न परिवारमा हुर्केका जोशीलाई सानैदेखी सरकारी जगिर खाने ठूलो धोका थियो । उनी त्यही दौरानमा काठमाडौंमा लोकसेवाको तयारी थाले । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले काठमाडौंको रोयल क्यासीनोमा काम गर्दै अध्ययनलाई समेत निरन्तरता दिए । उनका बुवाको मानसिक सन्तुलन ठिक छैन ।

उनी जन्मनु भन्दा अघि नै उनका बुवाको मानसिक सुन्तुलन विग्रेको थियो । जेठी दिदी गायत्री र मुकेशको पालन पोषण गर्ने जिम्मा उनकी आमाको काँधमा थियो । पाखो जमिन भएका कारण उब्जनी राम्रो नहुने र मजदुरी गरि खानुपर्ने भएका कारण जेनतेन उनकी आमाले छोराछोरीको पढाई खर्च र पालन पोषणमा कमी हुन दिइनन् ।

उनको गाँउमा धेरैजसो ब्यक्तीहरु पढेलेखेका र केहीले सरकारी जागिर समेत खाएका कारण उनी पनी त्यही जागिर खाने सोच बनाएर काठमाडौं छिरेको मुकेशले बताए ।

लोकसेवा आयोगका विभिन्न किताबहरु पढ्दै जाँदा उनले गिनीज बुकमा लगातार १ सय १३ घण्टा अध्ययन गरेर नाम लेखाएको प्रश्न भेटाए । सोही प्रश्नबाट मुकेशको दिमागमा समेत आफूले १ सय २५ घण्टा लगातार पढेर विश्व कीर्तिमान राख्ने सपना देखे र उनले धेरै लोकसेवा आयोगका किताहरु समेत पढ्दै गए । धेरै पटक उनले आयोगको पहिलो पेपरमा समेत नाम निकाल्न सफल रहे । पछि गएर लोक सेवा भन्दा पनी त्यही सपनालाई साकार पार्ने सोच बनाएर दृढताका लागि परेका थिए ।

यसका लागि उनका काका न्यायाधीश केशवराज जोशी, जकराज जोशी केएमसी कलेज काठमान्डौका नेता ऐन महर, रोयल क्यासिनो, सिईडिईपि लगायत धेरैले उनलाई सहयोग समेत गरे । उनी अहिले सुदुरपश्चिम प्रदेशलाई मात्र नभएर नेपाललाई नै चिनाउन सफल बनेका छन् । उनलाई भेटेर पूर्व उपप्रधानमन्त्री भीम रावलले समेत सुदुरपश्चिम प्रदेशको मात्रै नाम नराखेर सिंगो नेपालको नाम राख्न सफल भएका भन्दै बधाई पनि दिए ।