२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


डा. रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’


0
Shares

काठमाडौं । सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ ।

सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज डा रुइतलाई प्रदान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार यहाँ आयोजित समारोहमा  राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गरिन ।

त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाएका तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही रु दुई लाख ५० हजार प्रदान गरे ।

डा रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् ।

उनले तिलगङ्गा अस्पतालले शुरु गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र  दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।

‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’

राष्ट्रपति भण्डारीले डा रुइत नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र भएको बताइन । “नेपालको हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मनुभएका डा इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पु¥याउनुभएको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “डा रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

उनले आगामी दिनमा थप अनुसन्धान र आविष्कारको काम होस् भन्ने कामनासमेत गरे । कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने मियाँ र ढुङ्गानालाई थप आविष्कारका लागि प्रोत्साहन मिल्ने विश्वास पनि व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले नेपाल प्रतिभाको उर्वर भूमि भएको उल्लेख गर्दै यस धर्तीमा विश्व शान्तिका अग्रदूत गौतमबुद्ध, वेद र  पुराणका रचनाकार व्यास, ऋषि याज्ञवल्क्यले जन्म लिएको र  ‘रामायण’का रचयिता वाल्मीकि आदिको पवित्र कर्मथलो भएको स्मरण गरे ।

उनले नेपाललाई विश्वमा चिनाउने प्रतिभाको ठूलै सङ्ख्या यहाँ रहेको उल्लेख गर्दै नेपाल सरकारले मुलुकको शान्ति, सुशासन, नवप्रवत्र्तन, वैज्ञानिक खोज, अनुसन्धान गर्ने तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्ने र योगदानको कदर गर्ने नीति लिएको प्रति खुशी व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले भनिन, “ सरकारले राष्ट्रिय प्रतिभालाई पुरस्कार प्रदान गर्ने परम्पराको थालनी गरेको छ, सरकारले हरेक वर्ष असाधारण प्रतिभा भएको व्यक्तिलाई सम्मान गर्दा प्रोत्साहन मिल्छ, यो कार्यका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

सो अवसरमा  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गर्नुको मुख्य उद्देश्य मुलुकमा नवप्रवत्र्तन, वैज्ञानिक खोज तथा विकासमा लाग्न प्रेरित गर्नु र  बालबालिकालाई प्रोत्साहन दिनु भएको स्पष्ट पार्दै यसबाट देशका युवापुस्ताको नवप्रविधिको आविष्कारमा आकर्षणमा वृद्धि हुनेछ भन्ने विश्वास व्यक्त गरे । रासस