२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काठमाडौंका सडकमा पाँच सयभन्दा बढी युवा १५ दिनका लागि स्वयंसेवकका रुपमा खटिने (तस्वीर)


0
Shares

काठमाडौं, असोज ५ । महानगरीय ट्राफिक प्रहरीले आजदेखि १५ दिनका लागि सडकमा पाँच सय बढी युवा ट्राफिक स्वयंसेवक परिचालन गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी, राष्ट्रिय युवा परिषद र यूएन नेपालको संयुक्त आयोजनामा युवा परिचालन वर्ष २०७६ मा रहेर सञ्चालित सो अभियानको आज गृहमन्त्री रामबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले स्वयंसेवकहरुलाई ज्याकेट र परिचयपत्र वितरण गरे ।

नजिकिँदो चाडबाडका क्रममा ट्राफिक चाप बढ्ने र ठगीका घटनाहरु समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न अभियानमा परिचालित युवा विद्यार्थीले काम गर्ने ट्राफिक प्रहरीले जनाएको छ । उपत्याकाका सडकमा चाप हुने क्षेत्रमा रहेर युवा स्वयंसेवकहरुले पैदलयात्री तथा सवारी चालकहरुलाई ट्राफिक नियमबारे जनचेतना दिनेछन् ।

अभियान उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै अहिले युवा स्वयंसेवकहले गर्ने ट्राफिक सुरक्षासम्बन्धी कामले नेपाल भ्रमण वर्षलाई समेत सहयोग गर्ने बताए । उनले यो अभियानलाई देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, हास्यकलालर मनोज गजुरेल, जितु नेपाल लगायतले ट्राफिक युवा स्वयंसेवक अभियानले युवाहरुलई अनुशासित बनाउने र जागरणकै रुपमा अभियान चल्ने विश्वास व्यक्त गरेका थिए ।