
काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्ला–बेग्लै बधाइ तथा शुभकामना सन्देश पठाउँदै अतिनिकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताएका छन् ।
चिनियाँ राष्ट्रपति सीले यसै वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सफलतापूर्वक सम्पन्न चीनको राजकीय भ्रमणपछि चीन र नेपालबीचको विविध क्षेत्रमा फैलिएको सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई नयाँ गति प्राप्त भएको बताएका छन् ।
चीन–नेपाल सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउँदै चिनियाँ राष्ट्रपतिले अनन्तकालसम्म रहिरहने दुई देशबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको सन्देशमा उल्लेख गरेका छन् ।
उनले चीन सरकार र त्यहाँका जनताका साथै आफ्ना तर्फबाटसमेत नेपाल र नेपाली जनतासहित राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरेका छन् ।
यसैगरी, कोरियाली राष्ट्रपति मुनले पनि सन्देशमा विविध क्षेत्रमा सहकार्य गर्दै अघि बढेको कोरिया–नेपाल सम्बन्धलाई आपसी लाभका निम्ति भविष्यलक्षित भएर आफू अघि बढ्न तयार रहेको बताएका छन् ।
दक्षिण कोरियाली जनता र नेपालीबीचको सम्बन्धलाई दुवै देशको हितमा थप प्रगाढ बनाइने उनले सन्देशमा उल्लेख गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्