Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


९ जना पत्रकार प्रहरीको नियन्त्रणमा


0
Shares

काठमाडौं, भदौ ३० । सिंहदरबार परिसरभित्रबाट सोमबार दिउँसो ९ जना पत्रकार पक्राउ परेका छन् ।

रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

रेडियो नेपालको कार्यलयमा तलाबन्दी गर्ने पूर्वनिर्धारित् कार्यक्रमअनुसार कार्यलयअघि पुगेका पत्रकारहरुलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मीन बम, यम विरही र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी छन् ।

यस्तै, प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम र प्रेस युनियन डोटीका उपाध्यक्ष मीन जोशी पक्राउ परेका छन् । अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

पत्रकार महासंघ तथा प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरेका तीनजना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो ।

रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत् थिए ।

पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहाइको माग गर्दै विभिन्न संगठनहरुले विज्ञप्ति जारी गरेका छन् ।