Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सरकारको निर्णयमा सर्वोच्चको रोक, लिखित जवाफ पेश गर्न निर्देशन


0
Shares

supreme court order to government

काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

‘कृषिका प्राथमिक उत्पादन क्षेत्रको व्यवसायलाई समेत समेट्ने गरी त्यस्ता व्यवसायलाई समेत वैदेशिक लगानी अनुमति दिने गरी ऐनको अनुसूची संशोधन गर्ने कार्य ऐनको उद्देश्य अनुकुल रहेको नदेखिँदा नेपाल राजपत्र २०७७ पुस २० मा प्रकाशित खण्ड ७०, संख्या ७६ को नेपाल सूचना यो निवेदनको टुंगो नलागेसम्म कार्यन्वयन नगर्नु नगराउनू’ सर्वोच्चको आदेशमा भनिएको छ ।

साथै कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्नु पर्नाका कारण लिखित रूपमा १५ दिनभित्र पेश गर्न पनि अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ ।

कृषि व्यवसायसँग सम्बन्धित पक्षहरूसँग छलफल नै नगरी सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधन गरेर कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो ।

नेपालको कृषि व्यवसाय धरासायी हुनेगरी सरकारले वैदेशिक लगानीका नाममा कुनै विशेष कम्पनी भित्र्याउन खोजेको भन्दै कृषि उद्यमीहरूले नीतिको विरोध गर्दै आएको छन् ।