
Wकाठमाडौं, पुस १७ । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन् ।
बिहीबार भएको छनोट खेलमा काठमाडौंले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो ।
काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो ।
अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौंले २३ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाउनुभयो ।
बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिनुभयो ।
यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाउनुभयो ।
बलिङतर्फ काठमाडौंका इशान पाण्डेले सात दशमलव चार ओभरमा २८ रन खर्चेर पाँच विकेट लिनुभयो ।
यस्तै सुमन उदयले तीन विकेट लिनुभयो ।
यसैगरी त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार नै भएको अर्को खेलमा आदिल खानको दोहोरो शतकको सहयोगमा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४० ओभरमा चार विकेट गुमाउँदै ३७५ रन बनायो ।
तीन सय ७६ रनको विजय लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले २९ दशमलव चार ओभरमा ८४ रन मात्र बनाउन सक्यो ।
ललितपुरका लागि आदिल खानले १२१ बलमा १६ चौका र १५ छक्काको मद्दतमा २०१ रन बनाउनुभयो ।
यस्तै आशुतोष घिरायले ५८ बलमा १२ चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका लागि भने पृथु बाँस्कोटाले ४८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाउनुभयो ।
अन्य खेलाडीको खेल प्रदर्शन सम्झिनलायक रहेन ।
बलिङतर्फ ललितपुरका सुमित झाले चार तथा युनिस थापा र तिलक भण्डारीले दुई–दुई विकेट लिनुभयो ।
प्रतिक्रिया दिनुहोस्