Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


श्रीलंका उच्च योगफलका लागि संघर्षरत्


0
Shares

काठमाडौं, साउन ३० । पहिलोपटक भइरहेको विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा श्रीलंका र न्यूजिल्यान्ड तथा अष्ट्रेलिया र इंग्ल्यान्ड भिडिरहेका छन् ।

श्रीलंकाले घरेलु मैदान गालेमा खेलिरहेको हो ।

बुधबारदेखि जारी खेलमा न्यूजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैै पहिलो इनिङ्समा २४९ रन बनायो ।

रोस टेलरले सर्वाधिक ८६ रन जोडेको इनिङ्समा श्रीलंकाका २५ वर्षे बलर अकिला दनञ्जयले ५ तथा सुरंगा लकमलले ४ विकेट लिए ।

जवाफमा श्रीलंकाले उच्च योगफलका लागि संघर्ष गरिरहेको छ । दोस्रो दिनको समाप्तिसम्म श्रीलंकाले ७ विकेटको क्षतिमा २२७ रन बनाएको छ ।

कुशल मेन्डिस र एन्जेलो म्याथ्युज्ले अर्धशतक बनाएको इनिङ्समा निरोशन डिक्वेललाले अविजित रहँदै ३९ रन बनाएका छन् ।

न्यूजिल्यान्डका अजाज पटेलले ५ विकेट लिइसकेका छन् ।

अष्ट्रेलिया–इंग्ल्यान्ड

विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई पराजित गरेको थियो ।

‘एसेज सिरिज’अन्तर्गत्को दोस्रो खेल इंग्ल्यान्डको लर्ड्समा भइरहेको छ । इंग्ल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दै एक रन पनि नजोड्दै जासन रोयलाई गुमाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले टेस्ट खेल्ने ९ टोलीबीच प्रतियोगिता आयोजना गरेको हो ।

इंग्ल्यान्ड र अष्ट्रेलिया तथा श्रीलंका र न्यूजिल्यान्डसँगै भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि सन् २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल खेल्नेछन् ।

दुई वर्षको अवधिमा २७ शृंखला हुनेछन् । सबै टिमले ६/६ ओटा शृंखला खेल्नेछन् । यसमा तीन घरेलु मैदानमा र तीन विदेशी मैदानमा हुनेछन् ।

एक शृंखलामा कम्तीमा दुई र बढीमा पाँचओटासम्म टेस्ट खेल खेलिनेछन् । अंकका आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

फाइनल खेल बराबरी वा ‘टाइ’ भएमा लिग चरणको अंकका आधारमा विजेता घोषित गरिने आइसीसीले जनाएको छ ।