
डम्मर बुढा मगर
बागलुङ, साउन २४ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने भएको छ ।
अन्यत्रबाट स्रोत जुटाएर भए पनि यही वर्षभित्र पहिरो पीडितका घर बनाउने योजना बनाइएकोगाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।
आइतबार गएको पहिरोले पाँच घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने तीन घरमा आंशिक क्षति पुगेको छ । आंशिक क्षतितर्फ दुई घरलाई जनही दश हजार र बाँकी एक घरलाई रु पाँच हजार राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
पहिरोले ओमबहादुर, शुभलाल, गमबहादुर, देवेन्द्र र बिर्ख श्रीपालीको घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने कृष्णबहादुर, हेमलाल श्रीपालीलगायतको घरमा आंशिक क्षति पुगेको छ । अन्य ६ घर पहिरोको जोखिममा छन् ।
यस्तै गाउँपालिकाले पहिरोमा परी ज्यान गुमाउने तीन जनाको परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । घाइते तीन जनालाई जनही रु ५० हजार र सामान्य घाइते चार जनालाई जनही रु २० हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताए ।
पहिरोमा परी स्थानीयवासी ४५ वर्षीया पञ्चकुमारी, ७० वर्षीया असरी र १२ वर्षीय प्रवीण श्रीपालीको ज्यान गएको थियो । गम्भीर घाइते भएका ओमबहादुर, राम र अनिल श्रीपालीको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोपीडित परिवारको राहतका लागि गाउँपालिकाको जनप्रतिनिधिहरुले एक महिनाको र कर्मचारीले पाँच दिन बराबरको तलबसमेत उपलब्ध गराउने भएका छन् ।
सम्पत्ति क्षतिका आधारमा थप राहत रकम उपलब्ध गराउने योजना गाउँपालिकाको छ । पहिरोपीडित परिवारको राहतका लागि अभियानसमेत चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्