
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, साउन २२ । यौनजन्य हिंसाका घटनामा मादकपदार्थ सेवन गरेर वा झुक्यानमा पारी सेवन गराएर भएका घटना बढदै गएका छन् ।
यससम्बन्धी एकिन तथ्यांक नभएपनि पछिल्लो समय गरिएको एक अध्ययनले लागुपदार्थ प्रयोग गरी हुने यौनजन्य हिंसाका घटनामा वृद्धि भएको देखाएको हो ।
लागुपदार्थ सेवन गरेर वा गराएर बेहोसी अवस्थाको फाइदा उठाइ हुने यौनजन्य हिंसाका घटनामा त्यति धेरै अनुसन्धान हुन सकेको छैन ।
साथीभाइको भेला वा पार्टीहरुमा बियर, वाइन वा अन्य प्रकारका मादकपदार्थ सेवन गर्नेक्रम बढ्दै गएको छ । यहीक्रममा नशालु अवस्थामै यौनजन्य हिंसा हुने गरेका छन् ।
कतिपय अवस्थामा भने शरीरमा उत्तेजना पैदा गर्ने नशालु औषधि सेवन गराएर पनि हिंसा गर्ने गरिएको छ ।
एक अध्ययनकाअनुसार सन् २०१६–१७ मा एक हजार ६०० भन्दा बढी यौनहिंसाका घटना भए । जसमा करिब एक हजार २०० बलात्कारका घटना थिए ।
यीमध्ये कतिपयमा लागुपदार्थ सेवन गरेर वा गराएर भएका भएपनि पीडितमाथि लागुऔषधको प्रयोग भएको थियो वा थिएन भन्ने निर्क्योल भएन ।
यौनजन्य दुर्व्यवहारमा पुरातन अनुसन्धान प्रणाली नै अपनाउँदा वा मादकपदार्थ सेवनलाई सामान्यरुपमा लिँदा पीडितको शरीरमा लागुऔषधको अशं छ वा छैन पत्ता लगाउन कुनै परीक्षण नगरिने भएकाले लागुऔषधजन्य यौनहिंसा हो वा होइन भन्ने एकिन नहुने गरेको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाका प्रहरी नायब निरीक्षक पवन ढुंगाना बताउँछन् ।
एक अध्ययनकाअनुसार मनोरन्जनका लागि खुलेका रात्रिकालीनस्थल तथा ‘नाइटआउट’मा सबैभन्दा बढी ५६ प्रतिशत यस्ता घटना हुने गरेका छन् भने सार्वजनिक स्थानमा पनि ७ प्रतिशतसम्म यस्ता घटना पाइएका छन् ।
यस विषयमा बृहत् अध्ययन हुनुपर्ने र भयावह स्थिति आउन नदिन बेलैमा किशोर–किशोरी, उनका आमा–बुवा तथा शिक्षक–शिक्षिका र सरकार तथा अनुसन्धानकर्ता निकाय प्रहरी र विधिविज्ञान प्रयोगशालासमेत सचेत हुनुपर्ने यसै विषयमा अध्ययन गरिरहेकी डा. लता गौतम बताउँछिन् ।
लागुऔषधजन्य यौनहिंसाका शिकार ११ देखि १९ वर्ष उमेर समूहका बालिका तथा युवतीहरु धेरै रहेको अध्ययनले देखाएतापनि सबै उमेर समूहका महिलाहरु यस्ता हिंसाको शिकार हुने गरेका छन् ।
त्यसैले लागुऔषधको प्रयोग भएको/नभएको प्रमाणित गर्न अनुसन्धानमा यस विषयको जाँच गर्न तत्काल सुुरु गर्नुपर्नेमा विज्ञहरुको जोड छन् ।
प्रतिक्रिया दिनुहोस्