१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


यी वकिल जसलाई सुषमा स्वराजले एक रुपैयाँ तिर्ने बाचा गरेर पनि तिर्न भ्याइनन्


0
Shares

नयाँ दिल्ली, साउन २२ । भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको गएराति निधन भएको छ । ‘कार्डियो अरेस्ट’ का कारण मंगलबार राति नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनको अस्पतालमै निधन भएको थियो ।

मंगलबार साँझ उनले भारतकै प्रख्यात वकिल हरीर साल्वेसँग फोनवार्ता गरेकी थिइन् । साल्वेका अनुसार पूर्व विदेशमन्त्री स्वराजले उनलाई ‘एक रुपैयाँ’ लिन बोलाएकी थिइन् ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण जाधवसम्बन्धी मुद्दामा बहस गरेबापत साल्वेले एक रुपैयाँमात्र फिस लिने घोषणा गरेका थिए । पाकिस्तानको नियन्त्रणमा रहेका जाधवबारे अन्तर्राष्ट्रिय अदालतमा साल्वेले भारतीय पक्षबाट बहस गरेका थिए ।

एक भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै साल्वेले भने, ‘निधनको करिब एक घण्टाअघि सुषमा स्वराजले मलाई त्यही एक रुपैयाँ फिस लिन बोलाउनु भएको थियो ।’

फोनमा निकै भावनात्मक कुरा भएको उनले सुनाए । ‘उहाँले मलाई भेट्न आउन भन्नु भयो,’ उनले भने, ‘मैले तपाईलाई एक रुपैयाँ दिन बाँकी छ भनेर उहाँले मलाई भन्नुभयो ।’

जवाफमा आफूले त्यो एक रुपैयाँ आफ्नो लागि निकै मूल्यवान हुने बताएको पनि उनले सुनाए । ‘उहाँले मलाई भोलि (बुधबार) ६ बजे भेट्न आउन भन्नु भयो,’ उनले सुषमा स्वराजसँग भएको छलफल सुनाउँदै भने, ‘अचानक उहाँको निधनको खबर आयो, म दुःखी छु ।’

सुषमा स्वराजको निधन आफ्नो लागि निकै अपत्यारिलो रहेको उनले बताए । (एजेन्सी)