५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बल्ल पीडितहरुसँग छलफलको तयारी


0
Shares

मीरा बस्नेत (इमेज)

काठमाडौं, साउन २१ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले बल्ल पीडितहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

समिति गठन हुनेबित्तिकै गर्नुपर्ने काम पदाधिकारी सिफारिस गर्न नसकेको भनेर आलोचना हुन थालेपछि बल्ल गर्न लागिएको हो ।

सिफारिस समिति सदस्य एवं प्रवक्ता शर्मिला कार्कीले गत शुक्रबार बसेको बैठकबाट पीडितहरु र आयोगका पूर्वपदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भएको बताइन् ।

जबकि, यसअघि नै समितिले पदाधिकारीका लागि दरखास्त आह्वान गरेर गत जेठ मसान्तसम्ममा पदाधिकारी सिफारिस गरिसक्ने बताउँदै आएको थियो ।

दरखास्त दिनेहरुबाट चयन गर्न नसकेपछि बाहिरबाट चयन गर्ने मापदन्ड बनाउनेतर्फ समिति लाग्यो र त्यो बनेपछि पदाधिकारी सिफारिस गर्ने बताउन थाल्यो ।

तर, त्यो काम सकिएपछि अहिले समितिले द्वन्द्वपीडितहरुसँग छलफल गर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी भने सिफारिस समितिसँग छलफलको कुनै औचित्य नरहेको बताउँछन् ।

पीडितहरु विगत चार वर्षदेखि सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदन्डबमोजिम ऐन संशोधन हुनुपर्ने माग गरिरहेका छन् ।

ऐन संशोधन भएरमात्र आयोगमा पदाधिकारी सिफारिस हुनुपर्ने उनीहरुको माग छ । तर, सरकारले अहिलेसम्म ऐन संशोधन गर्न सकेको छैन ।

प्रवक्ता कार्कीकाअनुसार शुक्रबारको बैठक संक्रमणकालीन न्यायकाबारेमा सन्चारमाध्यम र अन्तर्राष्ट्रिय समुदायले देखाएको चासोमा पनि केन्द्रित रहेको थियो ।

संक्रमणकालीन न्यायनिरुपणका लागि सरकार जिम्मेवार नबन्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र दबाब बढिरहेको छ ।

अर्कोतर्फ राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्त गर्ने कुराको पनि पीडितहरुले सख्त विरोध गरिरहेका छन् ।

तर, दलहरु राजनीतिक भागबन्डाकै लागि गोप्य छलफलमा लागिरहँदा समितिले पदाधिकारी सिफारिस गर्न सकेको छैन ।

यही कारण गठन भएको चार महिना बितिसकेपछि बल्ल पीडितसँग छलफलको प्रस्ताव समितिले गरेको छ ।

पदाधिकारी सिफारिस गर्न नसकेको आलोचनाबाट बच्न समितिले विभिन्न विषय अगाडि सार्ने गरेको छ ।

पीडित र पूर्वपदाधिकारीसँग छलफल गर्ने विषय औचित्यपूर्ण भएपनि अहिले आएरमात्र यो प्रस्ताव गर्नु या त समिति समय व्यतित गर्ने बहाना खोजिरहेको छ भन्ने सन्देश हो या अगाडि गर्नुपर्ने काम पछाडि गरिरहेको छ भन्ने सन्देश हो ।

भिडियो हेर्नुहोस्