४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


‘भारत तेस्रो राष्ट्रमा मानव बेचबिखनको मार्ग’


0
Shares

काठमाडौं, साउन २० । राष्ट्रिय मानवअधिकार आयोगले भारत तेस्रो राष्ट्रमा मानव बेचबिखनको मार्ग बनेको जनाएको छ ।

सोमबार ललितपुरमा मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै आयोगले मानव बेचबिखन केवल यौनबजार र बाध्यकारी श्रमका लागिमात्र नभएर तेस्रो राष्ट्रमा बेचबिखनका लागि भारतीय मार्ग प्रयोग भइरहेको जनाएको हो ।

भारतीय यौनबजारमा नेपाल, बंगलादेश र भारतभित्रकै महिला तथा बालबालिकाको संख्या अत्यधिक रहेको र नेपाल–भारत मानव ओसारपसार ५०० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

चीनमा पनि मानव ओसारपसार र मानव बेचबिखन अर्को समस्याकारुपमा देखापरेको र केरुङ नाकाबाट गत वर्ष २९ जना महिलाको उद्धार गरिएको पनि आयोगले जनाएको छ ।

चीनमा नेपाली महिलालाई पर्यटन भिसामा लगेर ‘डान्सबार’मा काम लगाउने र जबर्जस्ती विवाह, यौनशोषण गर्ने गरिएको पाइएको पनि आयोगले जनाएको छ ।

तेस्रो मुलुकमा हुने मानव ओसारपसार र मानव बेचबिखन विशेषगरी खाडी मुलुकहरु हुने गरेको छ ।

युरोपेली मुलुकहरु र अस्ट्रेलियामा पनि पर्यटन, अध्ययन, विवाहको नाममा ओसारपसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा करिब ३५ हजार नेपालीहरु मानव बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको पनि आयोगले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले लोकतन्त्रमा मानवअधिकार र प्रेस स्वतन्त्रता अपरिहार्य हुने कुरा सरकारले बेलैमा बुझनुपर्ने बताए ।