
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेका छन् । गत हप्ता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कोभिड संक्रमितमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिनुलाई कोभिडको दीर्घकालीन लक्षणका रूपमा सार्वजनिक गरेको थियो ।
हालसम्म कोभिडले मानव शरीरमा पार्न सक्ने प्रभावबारे गरिएका अध्ययन र पुष्टि भएका लक्षणहरूमध्ये न्युरोलोजिकल समस्या र मानसिक समस्या पनि अधिकांशमा देखिन थालेको सिडिसीले जनाएको छ ।
सिडिसले भनेको छ, ‘केही प्रतिशतमा कोभिड संक्रमणका कारण पछि गएर स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । यस्ता समस्या केही व्यक्तिमा संक्रमण निको भएलगत्तै देखिए पनि केहीमा लामो समयको अन्तरालपछि देखिने गरेका छन् ।
जसमध्ये न्युरोलोजिकल समस्या जस्तै, स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु आदि ।’ साथै, मानसिक समस्याहरू जस्तै, डिप्रेसन, एन्जाइटी र तीव्र मुडमा परिवर्तन आउनुलाई समेत कोभिडको दीर्घकालीन असरको रूपमा औँल्याइएको छ ।
अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसरहरूको समूहले गत हप्ता सार्वजनिक गरेको एक अध्ययनमा कोभिड संक्रमण भएका करिब २० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको उल्लेख छ ।
कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने अध्ययनमा बताइएको छ ।
ब्रिटिस जर्नल ल्यासेन्टमा प्रकाशित अध्ययनमा २० प्रतिशत अर्थात् प्रत्येक पाँचजना संक्रमितमध्ये एक व्यक्तिमा कोभिड निको भएको तीन महिनाको अन्तरालमा चिडचिडाहट, डिप्रेसन, एन्जाइटी र अनिद्राजस्ता मानसिक समस्या उत्पन्न भएको पाइएको थियो ।
अध्ययनले मानिसमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ ।
अध्ययनले कोभिड संक्रमितमा मात्र नभई पहिलेदेखि नै एन्जाइटी, डिप्रेसन, अनिद्राको समस्या भएका व्यक्तिमा कोभिड संक्रमणको जोखिम ६५ प्रतिशतले बढी हुनेसमेत उल्लेख गरेको छ ।
अध्ययनले मानसिक समस्या भएका व्यक्तिमा समेत कोभिडको जोखिम देखाएपछि यसबारे थप खोजको आवश्यकता रहेको अक्सफोर्डका मनोचिकित्सा विभागका डा।टेक्वेटले बताएका छन् ।
उनले भनेका छन्, ‘अहिले प्रकाशित गरिएको अध्ययन अप्रत्यासित थियो र थप अध्ययनको खाँचो छ ।’
सामान्यतः महामारीको सुरुवातदेखि नै संक्रमणले निम्त्याएको असामान्य परिस्थितिका कारण अधिकांशले मानसिक समस्या झेलिरहेको अध्ययनले देखाइरहेका थिए ।
तर, पछिल्ला केही अध्ययनले कोभिडबाट संक्रमित हुने व्यक्तिहरू मानसिक समस्याबाट बढी पीडित भएको पाइएको हो ।
अक्सफोर्डले इलेक्ट्रोनिक हेल्थ रेकर्डका आधारमा गरेको उक्त अध्ययनमा लगभग ६९ मिलियन व्यक्तिलाई सहभागी गराइएको थियो ।
अध्ययनमा पहिले नै मानसिक समस्या भए–नभएको पनि जाँच गरिएको थियो । सामान्यतया लकडाउनको समयमा अन्य व्यक्तिमा पनि मानसिक समस्या देखिए पनि सामान्य व्यक्तिको तुलनामा कोभिड संक्रमितहरू बढी प्रभावित भएको अध्ययनले पुष्टि गरेको छ ।
ननकोभिडको तुलनामा कोभिडका बिरामीमा एन्जाइटीजस्ता समस्या दुई गुणा बढी हुने सम्भावना रहन्छ । खासगरी ६५ वर्षभन्दा माथिका संक्रमितमा डिमेन्सियाको समस्या जटिल समस्या दीर्घकालीन समस्याका रूपमा देखिएको बताइएको छ ।
अध्ययनमा भनिएको छ, अधिकांश संक्रमितमा संक्रमणको गम्भीरतालाई लिएर हुने तनाव व्यवस्थापन गर्न नसक्दा एन्जाइटी, डिप्रेसन र अनिद्राको समस्या देखिएको हो ।
चिकित्सकहरूका अनुसार तनावले प्रत्यक्ष रूपमा प्रतिरोधात्मक क्षमतामा असर गरिरहेको हुन्छ । जब संक्रमित तनाव व्यवस्थापन गर्न सक्दैनन्, शरीरमा प्रतिरोधी क्षमता कमजोर हँुदै जान्छ, फलस्वरूप तनावले जटिल रूप लिन थाल्छ । nayapatrikadaily
प्रतिक्रिया दिनुहोस्