Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


त्रिवि सेवा आयोगद्वारा २४० परीक्षार्थीको परीक्षा रद्द


0
Shares

काठमाडौं, कात्तिक २६ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको भन्दै २४० परीक्षार्थीहरुको परीक्षा रद्द गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै आयोगले निर्देशनविपरीत परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम, रोल नम्बर र फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लंघन गरेका परीक्षार्थीहरुका उत्तरपुस्तिका र परीक्षा रद्द गरेको जानकारी दिएको हो ।

आयोगले आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न विज्ञापन नम्बर तथा खुला प्रतियोगिताहरुको माध्यमबाट उपप्राध्यापक पदका लागि २०७६ कात्तिक २८ देखि पुस २ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

यसरी रद्द गरिएकामा चिकित्साशास्त्र अध्ययन संस्थानका १६, इन्जिनियरिङ अध्ययन संस्थानका १०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका छ, विज्ञान तथा प्रविधि अध्ययन संस्थान ७७, मानविकी तथा सामाजिकशास्त्र संकायका ५९, शिक्षाशास्त्र संकायका ३० र व्यवस्थापन संकायका ३८ जना परीक्षार्थी छन् ।

यस्तै, कम्युटर एप्लिकेसन, नेपाली, ग्रामीण विकास र समाजशास्त्र गरी चार विषयका चारजना परीक्षार्थीहरुको पनि परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।