
काठमाडौं, साउन २ । सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा तीन अर्ब रुपैयाँ सेयर लगानी गर्ने भएको छ ।
गएको असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ३०० ओटा विद्युतीय बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् सो सहकारीमा लगानी गर्ने निर्णय गरिएको जानकारी दिइयो ।
सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गैरकानुनीरुपमा नेपाल बसिरहेका पाँचजना श्रीलंकाली नागरिकलाई निष्कासन गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।
प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनजना महिलासहित सातजनालाई नगर विकास कोष सन्चालक समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको छ ।
यस्तै, सो मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्नेलगायतका विभिन्न ८ ओटा निर्णयहरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्