
इलाम । वर्षाका कारण कच्ची सडकहरू हिलाम्य बनेपछि इलामका ग्रामीण क्षेत्रको आवतजावत कष्टकर बनेको छ ।
सदरमुकामसँग जोडिएका अधिकांश सडकहरु वर्षात्ले बिग्रिएपछि आवागमनमा समस्या भएको हो ।
अधिकांश सडकहरु कच्ची भएकाले वर्षायाममा इलामवासीले ठूलो सास्ती खेप्नुपरेको छ ।
सदरमुकामसँग सबै स्थानीय तहका सडक सञ्जालसँग जोडिएका छन् तर अधिकांश सडक कच्ची भएका कारण वर्षाकालमा सञ्चालनमा कठिनाइ हुने गरेको छ ।
सडक सञ्चालनमा अवरोध हुँदा दैनिक उपभोग्य सामाग्रीको ढुवानी र नगदेवाली बिक्रीका लागि सबैभन्दा बढी अप्ठ्यारो भइरहेको हो ।
लगातारको वर्षाले सडक हिलाम्ये भएको र ठाउँठाउँमा पहिरो गएकाले कमाइभन्दा खर्च बढी हुने भएपछि सवारी साधन सञ्चालन नगरेको चालकहरु बताउँछन् ।
गाउँगाउँमा सिंहदरबारको नारासँगै स्थापित भएका स्थानीय तहहरु पनि सडक बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।
ठाउँठाउँमा नयाँ सडक खुल्ने क्रम पनि जारी नै छ तर सडकको गुणस्तरमा खासै ध्यान नदिँदा वर्षायाममा सडकसेवा ठप्पजस्तै बन्ने गरेको छ ।
जिल्लाभरी सडक बनाउने गति द्र्रूत भए पनि प्राविधिक पक्ष कमजोर हुँदा वर्र्षाको सिजनमा जोखिम मोलेर यात्रा गनुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो छ ।
पहुँचको आधारमा सडक निर्माण हुने र थोरै बजेटमा पनि सडक बनाउने होडबाजीले गर्दा गुणस्तरको पक्ष ओझेलमा पर्दै गएको देखिन्छ ।
पुराना सडकभन्दा बढी नयाँ सडक हिलाम्मे बनेका छन् । हिलोमा फसे पनि धकेल्दै केही सडकमा गाडी चलेका भए पनि ग्रामिण सडक ठप्प रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्