
नुवाकोट । नुवाकोटका विभिन्न नदीमा अवैधरुपमा बालुवा झिक्ने क्रम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाए पनि तस्करहरुले खेताला नै लगाएर हाते औजारमार्फत् अवैधरुपमा बालुवा संकलन गरिरहेका हुन् ।
असारदेखि भदौसम्म नदीमा मेसिनले उत्खनन् गर्न नपाउने भएपछि तस्करहरुले मजदुरको प्रयोग गरेर हाते औजारमार्फत् बालुवा निकाल्न थालेका हुन् ।
नुवाकोटको तादी, त्रिशुली सामरीलगायतका नदीमा अहिले व्यापक रुपमा नदी उत्खनन् भइरहेको छ । दैनिक ५० भन्दा बढी टिपरले नदीबाट निकालिएको वालुवा ओसारिरहेका छन् ।
नुवाकोटको महादेवफाँट, रातामाटे र कोल्पुटार खोला किनारमा बालुवा निकाल्नेको भीड नै लाग्ने गरेको छ ।
विभिन्न समूह बनाएर वालुवा बोक्नेहरुबीच कसले पहिला गाडी भर्ने भन्ने होडबाजी नै चल्ने गरेको छ ।
दैनिक वालुवा निकालेवापत १५ सयदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको मजदुरहरुले बताएका छन् ।
खोलामा जोखिम भए पनि राम्रो आम्दानी भएकाले वालुवा संकलन गर्र्नेहरुको भीड बढेको हो ।
प्रतिक्रिया दिनुहोस्