
ध्रुव भट्टराई (इमेज)
विराटनगर, असार ३० । पाँच दिनयता भएको वर्षाका कारण आएको बाढी र डुबानबाट मोरङ पनि प्रभावित बनेको छ ।
प्रदेश राजधानी रहेको विराटनगर महानगरपालिका बढी प्रभावित भएको छ । बाढी र डुबानका कारण विस्थापित भएकाहरुको बिचल्ली भएको छ ।
मोरङमा बाढी र डुबानमा परी ६ हजार ५३५ जना विस्थापित भएका छन् । जसमा १५ सय १६ घर–परिवारका रहेका छन् ।
विस्थापितहरु अहिले अस्थायी बसोबासका लागि विभिन्न विद्यालय र मठ–मन्दिरमा आश्रय लिइरहेका छन् ।
पानी पर्नेक्रम अझै नरोकिएकाले पीडितहरु अझै घर फर्कन सकेका छैनन् ।
आश्रय लिइरहेका स्थानमा मानिसको चाप बढी हुँदा बालबालिका, वृद्धवृद्धा र महिलाहरु समस्यामा परेका छन् ।
एउटै कक्षाकोठामा धेरैजना सुत्नुपर्ने र लामखुट्टेका कारण रातभर जागै हुनुपरेको पीडितहरुको गुनासो छ ।
बाढी र डुबानका कारण मोरङमा सबैभन्दा बढी प्रभावित विराटनगरवासी नै छन् । महानगरका १९ वडामध्ये ६ ओटा वडाका एक हजारजना बाढी र डुबानका कारण विस्थापित बनेका छन् ।
विस्थापितहरुलाई खाने र बस्ने प्रबन्ध स्थानीय तहले गर्दै आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।
विस्थापितहरुलाई ‘सेल्टर’ निर्माणका लागि विभिन्न संस्थाहरुसँगको समन्वयमा व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति अभयकुमार गुप्ता बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्