
सञ्जय कार्की (इमेज)
रौतहट, असार ३० । बाढीका कारण सबैभन्दा बढी प्रभावित बनेको रौतहटको दुर्गाभगवती गाउँपालिकाकाको अवस्था अझै सामान्य हुन सकेको छैन ।
पाँच दिनदेखि विद्यालयको प्रांगणमा बस्दै आएका बाढी प्रभावितहरु अझै घर फर्कन सकेका छैनन् ।
आर्थिक अवस्था कमजोर रहेका उनीहरुको फुसको भुइँतले घर बाढी र डुबानले कामै नलाग्ने भएपछि उनीहरु घर फर्कन नसकेका हुन् ।
दुर्गाभगवती गाउँपालिका–२ का बाढी प्रभावित ५०० भन्दा बढी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयमा बस्दै आएका छन् । गाईवस्तुसँगै उनीहरु विद्यालयमा रहँदै आएका छन् ।
घर डुबानमा परेपछि अन्नपात र लत्ताकपडासमेत निकाल्न नपाएका उनीहरु बिलौनाबाहेक केही गर्न सकेका छैनन् ।
दैनिक ज्यालादारी गर्दै जीविकोपार्जन चलाउँदै आएका उनीहरुमा पिउनेपानीदेखि खानपिनकोसमेत समस्या देखिएको छ ।
गाउँपालिकाले राहतस्वरुप चिउरा वितरण गरेपनि त्यो पर्याप्त हुन सकेको छैन ।
प्रदेश र संघीय सरकारबाट राहत पाउन नसकेको गुनासो उनीहरुको छ ।
दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण साह भने सिंगो गाउँपालिका नै बाढी र डुबानबाट प्रभावित बनेकाले राहतमा केही ढिलाइ भएको बताउँछन् ।
राहत र पुनःस्थापनाका लागि गाउँपालिकाबाट एक करोड रुपैयाँ बजेट विनियोजन गरेर काम अघि बढाइने साह बताउँछन् ।
यता, रौतहटका जनप्रतिनिधिलेसमेत आफ्नो एक महिनाको तलब विपद् व्यवस्थापन समितिमा दिने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्