२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अक्षयकोष निर्माणका लागि मोफसलपछि काठमाडौंमा इशारा एकल शो


0
Shares

काठमाडौं  । हास्यकलाकार गणेश इशारा धरान, उदयपुर र भोजपुरपछि राजधानीमा एकल कमेडी सोको तयारीमा जुटेका छन् ।

समाजसेवी वीरमाया राई (सोभोमा) अक्षयकोष निर्माण सहयोगार्थ धरानबाट सुरु भएको उनको एकल सो काठमाडौंमा साउन ४ गते हुन लागेको हो ।

रोविनेश कम्पनीको प्रायोजनमा हुने कार्यक्रममा उनलाई शम्भु राई, कुन्ति मोक्तान, टीका बम्जन, सपन श्रेष्ठ, डीजराज पौडेल, मेनुका राई, रुपकुमार राईलगायतले पनि साथ दिने भएका छन् ।

हास्यब्यंग्य प्रस्तुतीमार्फत सामाजिक कार्यमा सक्रिय इशाराले वीरमाया राई (सोभोमा) अक्षयकोषमार्फत अनाथ तथा असाहय बालबालिकाको शिक्षाका लागि एकल कमेडी सो सुरु गरेका हुन् ।

धरान, उदयपुर, भोजपुर र काठमाडौंपछि पोखरा, बुटवललगायत देशका विभिन्न शहरमा उनको कार्यक्रम हुँदैछ ।

२०७१ सालमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उनको पहिलो एकल शो आयोजना भएको थियो ।

देश विदेशका दर्जनौं स्टेजमा आफ्नो प्रस्तुती दिइसकेका उनी नेपालका मुगु र रोल्पाबाहेक सबै जिल्लामा कार्यक्रमका शिलशिलामा पुगीसकेका छन् ।

गाइजात्रे एल्बम ‘दुर्गती’मा शेरबहादुर देउवा र माधबकुमार नेपालको क्यारिकेचर गरेर ख्याती कमाएका उनका ‘साँढेतन्त्र’, ‘सदन हल र भट्टी पसल उस्तै’, ‘भद्रगोल डटकम’जस्ता गाइजात्रे एल्बम श्रोतादर्शकमाझ आइसकेका छन् ।

वि.स. २०५३ सालमा भोजपुरबाट राजधानी भित्रिएपछि हास्य कलाकाकारितामा लागेका उनले करिब डेढ दर्जन म्यूजिक भिडियो निर्देशन पनि गरेका छन् ।

समाजसेवामा रुची राख्ने इशाराले यसअघि खोटाङका मृगौला रोगी हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ, भोजपुरका राजेन्द्र राईको मृगौला उपचारका लागि प्रहसनमार्फत आर्थिक सहयोग जुटाइसकेका छन् ।

इशाराको प्रहसन, चुटकिला तथा हांस्यव्यंग्य शैलीमा भाषण गर्ने कला, क्यारिकेचर दर्शकले बढी रुचाउने गरेका छन् ।