२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बाढी–पहिरोमा परेर २८ जनाको मृत्यु, १६ व्यक्ति बेपत्ता


0
Shares

काठमाडौं, असार २८ । अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी–पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ ।

बाढी–पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

बाढी–पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा तीन/तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई/दुई तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एक गरी २८ जनाको ज्यान गएको हो ।

काठमाडौंमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक/एकजना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ ।

बाढी–पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।

साथै, मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक/एकजना गरी ११ जना घाइते भएका छन् ।

सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक/एकजना गरी १६ जना बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत हटाउने कार्य जारी रहेको छ । रासस