२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


तुरतुरे ताल आसपास पहिरोको जोखिम


0
Shares

बाग्लुङ, असार २८ । बाग्लुङको पश्चिम ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा रहेको कृत्रिम तुरतुरे ताल आसपासमा पहिरोको जोखिम बढेको छ ।

वर्षासँगै तालमा पानीको बहाव बढेकाले मध्यपहाडी लोकमार्ग कटानमा पर्दै गएको छ । कतिपय स्थानमा सडक भाँसिदै गएको छ ।

विद्युतको निर्माणाधीन केन्द्रीय प्रसारण लाइनका पोल र तारमा समेत क्षति पु¥याएको छ भने मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको छ । तलबाट कृत्रिम तालले सडक भासिने अवस्था र माथिबाट पहिरो खस्ने जोखिम बढेको छ ।

सडक भासिएर पहिरो खसेमा गत वर्ष पहिरोले थुनिएर बनेको कृत्रिम ताल फुट्न सक्ने खतरा देखिएको छ । गत वर्ष सोही पहिरोमा परी एक महिलाको ज्यानसमेत गएको थियो ।

गत वर्ष भदौमा लोकमार्गमा ५०० मिटर माथिबाट पहिरो खस्दा बडिगाड खोला करिव ६ घण्टा थुनिएर ताल बनेको थियो । जसलाई स्थानीयले तुरतुरे ताल नाम दिएका थिए । ताल फुटेपछि बडिगाडको खाल, भिमगिठे, न्वारा, खर्बाङ, गुल्मीको रिडी र बडिगाड खोला आसपासमा रहेका बस्ती उच्च जोखिमा परेका छन् ।

ताल फुटेर बगाउने डरले ठूलो पानी पर्दा रातभर जाग्राम बस्ने गरेको स्थानीय बताउँछन् । बडिगाड गाउँपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी ताललाई सुरक्षित तरिकाले फुटाउने योजना बनाएको जनाएको छ ।