२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बनेपामा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु, चौरी देउरालीमा घर पुरियो


0
Shares

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले घर भत्किँदा उहाँकी श्रीमती गोमा दंगाल र नातिनी ७ वर्षीया सुहावी दंगालको मृत्यु भएको हो ।

घर भत्किँदा रामप्रसादकी बुहारी सुशीला र ३ महिनाकी नातिनी अनुष्का घाइते भएकी छन् । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै चौरी देउराली–४ छेडामा गएको पहिरोले दिपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घर पुरिएको छ ।

यता, मंगलटार, कटुन्जेलगायतका ४ स्थानमा झरेको पहिरोका कारण यातायात सेवा ठप्प भएको छ ।

यसैगरी अबिरल बर्षाका कारण काभ्रेको वनेपासहितका ग्रामीण बस्ती डुवानमा परेका छन् । बनेपा बजार जलमग्न हुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।

काभ्रेको पनौती–ढुंगखर्क यातायात, बिपी राजमार्ग, काभ्रेको कोशीपारी चल्ने यातायात, महाभारत, खानिखोलालगायतको स्थानमा यातायातको सेवा अबरुद्ध भएको छ । बर्षाका कारण रोशी खोला, भोटेकोशी तथा इन्द्रवती नदीमा बाढी आएको छ ।