२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


तराईका जिल्लामा भूमिगत पानीको स्रोत सुक्न थाल्यो, खानेपानी कै अभाव


0
Shares

-दीपक घिमिरे/ईमेज

भैरहवा । पर्याप्त पानी नपरेका कारण भूमिगत पानीको स्रोत घटेपछि रुपन्देहीमा खानेपानीको अभाव हुन थालेको छ ।

पर्याप्त पानी नपरेका कारण कतिपय कृषकले अझै रोपाइँ गर्न पाएका छैनन् भने खानेपानीको पाइपमा पनि पानी निकै कम आउन थालेको छ  ।

देशका अन्य स्थानमा वर्षा शुरु भए पनि रुपन्देहीमा पर्याप्त वर्षा नहुँदा सिँचाइ तथा खानेपानीको समस्या भएको छ ।

केही कृषकले डिप ट्यूबेल, बोरिङ लगायतबाट रोपाइँ गरे पनि रोपिएको खेत सुकेकोे छ ।

अर्कोतिर खानेपानीका पाइपमा पनि पानी निकै कम आउन थालेपछि समस्या भएको हो ।

पूर्व मेचीदेखि महाकालीसम्म नदीहरुको अत्याधिक उत्खनन् भइरहेकाले पानीको सतह घटेर एकदम तल गइरहेकोमा वातावरणविद्को चिन्ता छ ।

नदीको उत्खननमा नियन्त्रण नगरे झन् भयावह अवस्था आउन सक्ने देखिएकाले नदीको छेउछाउ वृक्षारोपण समेत गर्नुपर्ने वातावरणविद् नारायणप्रसाद सापकोटाको सुझाव छ ।

अर्कोतिर तराइका शहरहरुमा अव्यवस्थित रुपमा जनसंख्या थपिँदै गएकोले पनि खानेपानीको लागि समस्या हुँदै गइरहेको छ ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय भैरहवाका प्रमुख इञ्जिीनियर अजय कुमार साहले  खानेपानी संस्थानको खानेपानी वितरणमा खासै समस्या नभए पनि पानीका मुहान सुक्दै गएको र माग बढ्दै गएको बताउँछन् ।

गत मगंलवार परेको पानीले कृषकले राहत महसुस गरेका छन् तर यो रोपाइका लागि भने पर्याप्त छैन ।

खाद्यान्नको भण्डार मानिने रुपन्देहीमा कृषकका लागि सिँचाइ चुनौती बन्दै गएको छ ।