२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


नेता सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश


0
Shares

काठमाडौं, असार २५ । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ–‘आयोगमा उजुरी दिएको छ कि छैन ? उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए अदालतलाई जानकारी दिनू ।’

अदालतले आयोगलाई उक्त मुद्दाको उजुरीकाबारेमा अदालतलाई जानकारी दिन भनिएको छ ।

लामाको वि.सं. २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परी दुई महिनापछि शव फेलापरेको थियो ।

लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ साल मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । लामाको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।

२०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो । रासस