
काठमाडौं, असार २५ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सरोकारवालाहरुसँग थप छलफल गर्ने निर्णय गरेको छ ।
विधेयकबारे सांसदहरुको राय बाझिएपछि बुधबार समितिले अर्कोपटक कानुनविद्हरुसहितसँग थप छलफल गर्ने निर्णय गरेको हो ।
समितिले यसबारे गृहकार्य गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
बैठकमा सांसदहरुले संघ र प्रदेशमा प्रहरीलाई दिइने सेवा–सुविधा समान हुनुपर्ने सुझाव दिएका थिए ।
समानता नभए विवाद आउने भएकाले सेवा–सुविधा फरक हुन नहुने धारणा उनीहरुले राखेका थिए ।
सांसदहरु नवराज सिलवाल, रामकृष्ण यादवलगायतले संघबाट प्रदेशमा सरुवा हुने प्रहरीको एक पद बढुवा वा ‘ग्रेड’वृद्धिको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्