
भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच भएको भिडन्तबारे प्रहरीले अनुसन्धानलाई ब्यापक बनाएको छ ।
प्रहरीले अहिले त्यहाँको सुरक्षा व्यवस्था थप मजबुत पारेको छ । प्रदेश १ प्रहरीले मद्दतका लागि थप जनशक्ति पठाएको छ । घट्नाका क्रममा पहिले फायरीड कसले खोल्यो भन्ने एकिन भने हुन सकेको छैन ।
स्थानीय पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बास बसेको सूचना पाएपछि सर्चमा गएको घुमुवा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको बताइएको छ ।
घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो ।
विप्लव नेतृत्वको कार्यकर्ताले गोली प्रहार गरेपछि प्रतिकार गरेको प्रहरीले बताएको छ ।
मारिने प्रहरी सञ्जिव खोटाङ तुवाचुङ नगरपालिका–१ बाहुनडाँडाका बासिन्दा हुन भने विप्लव कार्यकर्ता नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका– १ का निवासी हुन ।
घट्नामा विप्लव कार्यकर्ता नीरकुमार राई ‘प्रशान्त’को पनि मृत्यु भएको छ ।
हामीसँग कुरा गर्दै भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतलले घटनामा एक जना प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु भएको पुष्टी गरे ।
प्रतिक्रिया दिनुहोस्