Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘संक्रमणकालीन मुद्दा टुंगो लगाउनसक्ने व्यक्तिको खोजीमा छौं’


0
Shares

मीरा बस्नेत र योगेश लामा (इमेज)

काठमाडौं, असार २४ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिले अझै पदाधिकारी सिफारिस गर्न सकेको छैन ।

पछिल्लो एक महिनामा त सिफारिस समितिको नियमित बैठकसमेत बस्न सकेको छैन ।

सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन भएको तीन महिना बितिसकेकको छ ।

दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैतमा सरकारले सिफारिस समिति गठन गरेको थियो । तर, सिफारिस समितिले तीन महिना बितिसक्दा पनि नाम सिफारिस गर्न सकेको छैन ।

समितिले नाम सिफारिस गर्न उपयुक्त व्यक्तिको खोजी भइरहेको बताएपनि समितिमाथि अन्तर्राष्ट्रिय समुदाय, द्वन्द्वपीडित र राजनीतिक दलहरुको चर्को दबाब छ ।

यही कारण समितिले पदाधिकारी सिफारिस गर्न बोलाएको बैठक पटक–पटक स्थगित गर्दै आएको छ ।

अध्यक्ष तथा सदस्यका लागि परेको आवेदनमा छानबिन गरेर पदाधिकारी सिफारिस गर्न समितिले जेठ मसान्तमै तयारी गरेको थियो । तर, त्यो बैठक विभिन्न बहानामा पटक–पटक सरिरहेको छ ।

जेठ २७ गतेका लागि बोलाइएको बैठक समितिका अध्यक्ष ओमप्रकाश मिश्रको व्यस्तता भन्दै सारियो । यसपछि असार ८ र १६ गतेका लागि तय भएको बैठक पनि विभिन्न बहानामा बस्न सकेन ।

अहिले फेरि यही असार २७ गतेको लागि बैठक बोलाइएको छ । तर, त्यो बैठकले पनि पदाधिकारी सिफारिस नगर्ने समितिका सदस्य प्रेमबहादुर खड्का बताउँछन् ।

‘समितिले किन पदाधिकारी सिफारिस गर्न नसकेको ?’ भन्ने प्रश्नमा खड्काको तर्क छ–‘संक्रमणकालीन मुद्दा टुंगो लगाउनसक्ने व्यक्तिको खोजीमा छौं ।’

सिफारिस समितिमा दुवै आयोगका अध्यक्ष र सदस्य पदका लागि ५७ जनाको आवेदन परेको छ ।

खड्काको तर्कबाट के बुझ्न सकिन्छ भने यी ५७ मा योग्य व्यक्ति छैनन् वा समिति दरखास्त दिएकाभन्दा बाहिरका व्यक्ति सिफारिस गर्न खोजिरहेको छ ।

खड्काकाअनुसार दरखास्त दिएकाभन्दा बाहिरका व्यक्ति सिफरिस गर्न कस्तो मापदन्ड अपनाउने भनेर सिफारिस समितिकै सदस्य प्रकाश वस्तीको संयोजकत्वमा कार्यविधि तयार भइरहेको छ ।

असार २७ मा तोकिएको बैठक भएमा त्यो कार्यविधि प्रस्तुत् हुने उनी बताउँछन् ।

बाहिर–बाहिर बैठक सर्नुमा विभिन्न बहाना बनाएपनि भित्र–भित्र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गम्भीर चासोका कारण पनि समिति अनिर्णयको बन्दी भएको स्रोत बताउँछ ।

भिडियो हेर्नुहोस्