३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


संगठित अपराधविरुद्ध ठूलो सफलता हासिल : गृहमन्त्री


0
Shares

काठमाडौं, असार २३ । गृहमन्त्री रामबहादुर थापाले समग्र शान्ति–सुुरक्षालाई थप बलियो बनाइ सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत् गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताए ।

सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले कैदीबन्दीलाई तालिम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको जानकारी दिए ।

गृहमन्त्री थापाले तस्करीलगायत संगठित अपराधविरुद्ध ठूलो सफलता हासिल भएको तथा तस्करी र संगठित अपराध घटाउने विषयमा काम भइरहेको बताए ।

उनले गृह प्रशासन र सुरक्षा निकायमा लामो समयदेखि रोकिएको वृत्तिविकास पुनः सन्चालन गरिने बताए ।

उनले स्थानीय सरकारको नेतृत्वमा लागुऔषध रोकथाम र पुनःस्थापना अभियान सन्चालन गरी हिंसारहित समाज बनाउने अभियान सुरु गरिएको बताउँदै सीमानाकामा भएका गतिविधिमा निगरानी गर्न क्यामेरा जडान गरिने जानकारी दिए ।

उनले नेपालको संविधान, कानुन र देशको मार्गचित्रलाई व्यवस्थित गर्न सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण दुई वर्षभित्रसम्म सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । रासस