३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव


0
Shares

काठमाडौं, असार २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी व्यवस्था गर्नुपर्ने र त्यसरी नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गरे ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अरु प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने जिकिर गरे ।

संघीयतामा मुलुक गएकाले प्रमुखबाहेकका प्रदेश प्रहरीको अरु पदमा नियुक्ति गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने शर्माको तर्क छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाए ।

उनले प्रदेश प्रहरी प्रमुखबाहेकका अरु पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरे ।

समितिमा पेस गरिएको विधेयकमा प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।