३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


पूर्वराजा ज्ञानेन्द्रको पुस्तकमा ०५८ देखि ०७६ सम्मको ‘सन्देश संग्रह’


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७३ औं जन्मोत्सव हो । विगत झैं यसबर्ष उनको जन्म उत्सव त मनाइँने छैन तर आजकै दिन प्रकाशित उनको ‘सन्देश संग्रह’ नामक पुस्तकले भने तरंग ल्याएको छ ।

निर्मल निवास स्रोतका अनुसार आफन्तहरुको निधन भएका कारण उनले यस वर्ष जन्मोत्सव नमनाए पनि वि.स. २०५८ देखि ०७६ सम्मको घट्नाक्रमलाई लिएर उनले जारी गरेका सन्देशसहितको पुस्तकले भने नयाँ बहस सिर्जना गरिदिएको छ ।

३२८ पृष्ठको पुस्तकमा राजसंस्थाको जिम्मेवारी सम्हालेपछि भएका घट्नाक्रम र पटक पटक जनताका नाममा जारी गरिएका सन्देशहरुको संग्रह गरिएको छ ।

पुस्तकका प्रधानसम्पादक डा. फणिराज पाठकका अनुसार २०५८ जेठदेखि नेपालको राजगद्दीमा आसीन तत्कालिन राजा ज्ञानेन्द्र शाहबाट २०६५ सम्मका अवधिमा व्यक्त विविध सन्देश तथा राजगद्दी परित्यागपछि पनि विविध अवसर, पर्व एवं सन्दर्भमा अभिव्यक्त भएका सन्देश, धारणा, मत र मान्यतालाई समेटेर पुस्तक प्रकाशन गरिएको हो ।

‘यो सन्देश संग्रहमा राष्ट्रको सार स्वर प्रकट भएको छ । राष्ट्रवासीको युगीन आकांक्षा र भावना समेटिएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको चाहना यसले प्रतिविम्वित गरेको छ,’ प्रधानसम्पादक डा. पाठक भन्छन्, ‘राष्ट्रहित र लोकहितका खातिर व्यक्त भएका यस्ता सारभूत अभिव्यक्तिको महत्वपूर्ण भूमिका रहन्छ । मनन् योग्य यस्ता सचेतनामुलक सन्देशले राष्ट्रका जिम्मेवार सबै–सबैलाई आ–आफ्नो कार्यक्षेत्रमा कर्तव्यपरायण र कर्मनिष्ठ बनाउन निकै मद्दत गर्दछ भन्ने मैले ठानेको छु ।’