३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


प्रेरणाको दाइजो विवादमा मिसिल झिकाउने आदेश


0
Shares

काठमाडौं, असार २० । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्तिसम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले शुक्रबार ‘मिसिल झिकाउने’ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतमा उक्त दाइजोसम्बन्धी विवादमा यसअघि दुईपटक सुनुवाइ भएर टुंगिएको थियो । सो विषयमा पुनः तेस्रोपटक सुनुवाइ हुने भएको हो ।

प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलोपटक २०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो ।

नेपाल ट्रष्टको कार्यालयले उक्त फैसला चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले पूर्वराजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पत्ति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो ।

आफ्नो दाइजो भएको दाबी गर्दै सो फैसलामा चित नबुझेपछि प्रेरणाले सर्वोच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गरेकी थिइन् ।

अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको छ । रासस