५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


माओवादी सशस्त्र द्वन्द्वका पीडितहरुको फोटो प्रदर्शनी


0
Shares

काठमाडौं, असार १९ । बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि माओवादी सशस्त्र द्वन्द्वका पीडितहरुको फोटो प्रदर्शनी सुरु भएको छ ।

महिला, कानुन र विकास मञ्चले आयोजना गरेको प्रदर्शनीमा द्वन्द्वपीडितहरुका फोटो र उनीहरुले भोगेको यातना लिखितरुपमा राखिएको छ ।

संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितकेन्द्रित बनाइ पीडितहरुको न्याय र परीपूरणको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकको भनाइ छ ।

यही असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा अंगभंग भएका, यौनशोषणमा परेका र विभिन्न यातनापीडितहरुका फोटो राखिएको छ ।

यस्तै, पीडितहरुको कथालाई समेटेर उनीहरुकै स्वरमा तयार गरिएको वृत्तचित्र पनि देखाइएको छ ।

कार्यक्रममा द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका संयोजक गोपालबहादुर शाहले संक्रमणकालीन न्यायनिरुपणका लागि गठित दुवै आयोग (सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग)ले केही काम गर्न नसकेको गुनासो गरे ।

आयोगलाई फेरिपनि राजनीतिक भर्तीको थलो बनाउन खोजेकाले सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेको जिकिर उनले गरे ।