
ओस्लो, नर्वे । गैर आवासीय नेपाली संघ, नर्वेको राष्ट्रिय समन्वय समितिको निर्वाचन आगामी भदौ १४ गते अर्थात् अगस्ट ३१ तारिखमा हुने भएको छ ।
असार १४(२९ जुन, २०१९)गते सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनले राष्ट्रिय समन्वय समिति गठनको निर्वाचनका लागि डाक्टर सुरज थापाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
निर्वाचन समितिका अन्य सदस्यहरुमा प्राध्यापक डाक्टर विशाल सिटौला, सन्तोष वानियाँ, मनीष बुढाथोकी तथा नवराज गुरुङ छन् ।
यस समितिको पहिलो बैठकले आगामी अगस्टको ३१ तारिखमा हुने निर्वाचनका लागि सबै नयाँ प्रक्रिया सुरु गर्नेछ र उम्मेदवारी दरखास्त मनोनयनका लागि छिटै मिति घोषणा गर्नेछ ।
यस अघि जुन ८ तारिखमा गर्ने भनिएको राष्ट्रिय अधिवेशन निर्वाचन प्रक्रियामा असहज स्थिति उत्पन्न भएपछि जुन २९का लागि सारिएको थियो । जुन २९ तारिखमा अधिवेशनको उद्घाटन र वन्दसत्र सम्पन्न भएपछि निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यक्रममा एनआरएनए युरोप प्रमुख शिव वरुवालले हाल संसारमा नै यति ठूलो सञ्जाल अरु संगठनको नरहेको र नेपालको हितमा गठन भएको नेपालीहरुको संस्थाले संसारभर छरिएर रहेका आधा करोड नेपालीको हितमा काम गरिरहेको स्पष्ट पारे ।
उद्घाटन सत्र र वन्दसत्रमा विभाजित राष्ट्रिय अधिवेशनमा गैर आवासीय संघमार्फत् कसरी नेपाललाई सहयोग गर्न सकिन्छ भन्ने वारेमा व्यापक छलफल भएको थियो । राष्ट्रिय अधिवेशनको दुवै सत्रको अध्यक्षता वर्तमान अध्यक्ष सञ्जीवकुमार थापाले गरेका थिए ।
उद्घाटन सत्रमा बोल्ने विभिन्न वक्ताले गैआनेसंले कसरी नेपालको हितमा काम गर्ने भन्ने चासो र प्रक्रियाको वारेमा बोलेका थिए भने सबैको चासो राष्ट्रिय समन्वय समिति बनाउने कुरामा नै बढी केन्द्रित थियो ।
नर्वे गैर आवासीय नेपाली संघका उपाध्यक्ष शालिग्राम अर्यालले स्वागत गरेर सुरु गरेको उद्घाटन समारोहका धेरै बर्षदेखि नर्वेमा बसेर नेपालमा समाज सेवा गरिरहेका हेम गुरुङ, प्राध्यापक डाक्टर विशाल सिटौला, डाक्टर सुरज थापा, द्वारिका महर्जन, सन्तोष बानियाँ, विश्वास बजगाईँ, हरिविनोद अधिकारी, शिव बरुवाल(प्रमुख अतिथि),नेत्र तिमल्सिना,मनोज उपाध्याय, बरुण पौडेल, जीतेन्द्र शाही, चन्द्रप्रसाद गिरीलगायतले आफ्नो धारणा राखेका थिए ।
महासचिव राजु अर्यालले संचालन गरेको कार्यक्रममा कलाकार विनबहादुर खातीले गीत गाएर मनोरन्जन दिलाए । वन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो । विश्वमा छरिएर रहेका करिब आधा करोड नेपालीको साझा संगठन हाल ८० देशमा विस्तारित भएको छ र युरोपमा मात्र २८ ओटा देशमा संगठित छ ।
हालै नेपालका सम्पन्न लगानी सम्मेलनमा गैर आवासीय संघले करिब १० अर्ब लगानी गर्ने वचन दिएको छ । लगानीका लागि नेपालमा उपयुक्त वातावरण बने नर्वेका नेपालीले पनि लगानी गर्न इच्छा ब्यक्त गरेका छन् ।
कार्यक्रममा नर्वेमा नेपालीहरुका सामाजिक संस्थाहरु नै करिब ५० ओटा रहेको जानकारी पनि दिइएको थियो ।
२ हजार पाँचयस भन्दा बढी नेपालीहरु नर्वेमा रहेको अनुमान गरिन्छ । गैर आवासीय संघमा दर्ता भएका सदस्यहरु नै करिब ७ सय छन् ।
प्रतिक्रिया दिनुहोस्