५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘सीमाका प्रहरीले छिमेकी मुलुकबाट मागेर गुजारा चलाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ’


0
Shares

काठमाडौं, असार १७ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले सिमानामा खटिने प्रहरीलाई पनि अरु सरकारी कर्मचारीजस्तै शतप्रतिशत भत्ताको व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलकाक्रममा मंगलबार उनीहरुले सीमा सुरक्षा र सीमामा रहेका प्रहरीचौकीका प्रहरीलाई पनि भन्सारका कर्मचारीसरह शतप्रतिशत भत्ताको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

नेककिपाका सांसद प्रेम सुवालले एउटै सरकारी कर्मचारीमाथि सेवा–सुविधामा भइरहेको विभेद अन्त्य गर्न माग गरे ।

सत्तारुढ दल नेकपाका सांसद छक्कबहादुर लामाले सीमामा रहेका प्रहरीले छिमेकी मुलुकबाट मागेर दैनिक गुजारा चलाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे ।

सांसद जनार्दन शर्माले केही प्रदेशहरुको आर्थिक अवस्थाका कारण समायोजनमा जानेबित्तिकै प्रहरीको सेवा–सुविधा धान्न नसक्ने भएकाले केन्द्रले नै आर्थिक सहयोग गर्नुपर्ने तर्क गरे ।

उनले निजामती कर्मचारीजस्तै प्रहरीको समायोजन पनि जटिल हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

गृहसचिव प्रेमकुमार राईले समायोजनकोक्रममा व्यावहारिकतामामात्रै ध्यान दिँदा प्रहरीले गर्ने शान्ति–सुरक्षाको काममा बाधा पर्न नहुने बताए ।

समितिमा विधेयकमाथिको छलफल जारी छ ।