Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


गाउँले यार्सा संकलनमा गएपछि गाउँ सुनसानः स्थानीय तहको काम नै प्रभावित


0
Shares

-डीबी विष्ट/ईमेज

बझाङ । बझाङको सुर्मा र साइपाल गाउँपालिकाका बासिन्दा यार्सा संकलन गर्न लेकतर्फ लागेपछि गाउँनै सुनसान बनेका छन् ।

शैक्षिक संस्थासमेत बन्द गराएर स्थानीयवासी यार्सा संकलन गर्न लेकतर्फ लागेपछि स्थानीय तहको कामसमेत प्रभावित बनेको छ ।

केही वर्ष पहिले भारतका विभिन्न शहरमा गएर मजदुरी गर्ने यहाँका स्थानीय अहिले यार्सा संकलन गर्न लेकतर्फ जाने गरेका छन् । यार्साले जीविकोपार्जन गर्न सहज भएपछि स्थानीयवासी भारत जान छाडेका छन् ।

अहिले उनीहरुले यार्सा संकलन गर्ने गरेको र करिब ४ महिना यार्सा संकलन गरेर बर्ष भरिका लागि एक छाकको जोहो गर्ने गरेका छन् ।

यसै कारण सुर्मा र साईपाल गाँउपालिकाका सबै स्थानीय यार्सा संकलन गर्न लेक तर्फ जाने गरेको सुर्मा गाउँपालिकाका लालबहादुर बोहरा बताउँछन् ।

चैतको दोस्रो सातादेखि नै शैक्षिक संस्थाहरु बन्द गरेर उनीहरु यार्सा संकलनका लागि लेकतर्फ जाने गरेका छन् ।

यसबीचमा गाउँनै सुनसान हुने गरेको छ । यार्सा संकलनको काम पनि निकै चुनौतीपूर्ण हुने गरेको सुर्मा गाँउपालिका वडा नम्बर १ का भीमबहादुर बोहराको भनाइ छ । 

यार्सा संकलनका लागि जाँदा कतिपयले ज्यानसमेत गुमाउने गरेका छन् । यस वर्ष मात्रै यार्सा संकलन गर्न गएका ४ जनाको मृत्यु भइसकेको छ ।

यार्सा पाइने ठाउँमा औषधिको व्यवस्था गर्न सके सहज हुने सुर्मा गाँउपालिकाका रामबहादुर बोहराले बताए ।

यार्सा संकलन गर्न बालबालिकादेखि वृद्धवृद्धासमेत लेकतिर जाने गरेका कारण विद्यालय सुनसान बनेका छन् ।

हिउँदे र वर्षे बिदा कटौति गरेर विद्यालयमा पढाई पुरा गर्ने गरेको दौलीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहराले बताए ।

अधिकांश स्थानीय यार्सा संकलन गर्न लेक गएका कारण स्थानीय तहको कामसमेत प्रभावित भएको छ ।

गाउँ नै सुनसान भएपछि काम गर्न समस्या भएको सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा बताउँछन् ।

पछिल्लो समयमा यार्सा संकलन गर्ने ठाउँमा मानवीय चहलपहल बढेका कारण विगतका वर्षहरुभन्दा यार्सा निकै कम पाईने गरेको छ ।

यसलाई संरक्षण गर्न स्थानीय तहले चासो दिन आवश्यक छ ।