
काठमाडौं, असार १६ । दुई साताभित्र सिसडोलवासीका समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौं महानगरपालिकाको फोहोर सोमबारदेखि उठ्न थालेको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो ।
विभिन्न माग राखेर सिसडोलवासीले एक साताअघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए ।
सिसडोलवासीले काठमाडौंको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
उनकाअनुसार स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्नेलगायतका माग महानगरसँग गरेका थिए ।
कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर–४ का अध्यक्ष विकास डंगोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उनले बताए ।
समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन् ।
‘समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत् गर्नेगरी समयसीमा तोकिएको छ’–उनले भने–‘त्यही प्रतिवेदनका आधारमा समाधान निकालिनेछ ।’
विभिन्न मागहरू राखेर समय–समयमा स्थानीयवासीले फोहोर फाल्न अवरुद्ध गर्दै आएका छन् ।
महानगरले १३ वर्षपहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो । १३ वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै नगरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् ।
महानगरपालिकाले केही समयपहिलेबाट यहाँको विकल्पकारूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्